फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्कियो : हजारौँ नागरिक सडकमा, १३५ जना पक्राउ

काठमाडौँ । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोन नेतृत्वको सरकार, बढ्दो महँगी, करको बोझ र सामाजिक असमानताको विरोधमा देशव्यापी प्रदर्शन भएको छ। शनिबार फ्रान्सका विभिन्न सहरमा हजारौँ नागरिक सडकमा उत्रिएपछि केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको छ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रदर्शनका क्रममा अशान्ति फैलाएको आरोपमा देशभरबाट १३५ जना पक्राउ परेका छन्।

गत साता भएका हिंसात्मक प्रदर्शन, लुटपाट र आगजनीका घटनापछि सरकारले यसपटक सुरक्षा व्यवस्था कडा बनाएको छ। पेरिस, मार्सेली र लियोनलगायत प्रमुख सहरमा सुरक्षाकर्मी परिचालन बढाइएको छ भने विभिन्न स्थानमा चेकजाँच तथा आवागमनसम्बन्धी कडाइ गरिएको छ। केही क्षेत्रमा भने निश्चित सर्त पालना गर्ने गरी शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको छ।

गृहमन्त्री नुनेजका अनुसार शनिबार दिउँसोसम्म देशभर करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनकारीसँगबाट ग्यास मास्क तथा केही घरेलु हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पेरिसमा शान्तिपूर्ण र्‍याली, अन्य सहरमा प्रहरीको बल प्रयोग

राजधानी पेरिसमा अनुमति प्राप्त मार्ग हुँदै हजारौँ प्रदर्शनकारीले र्‍याली निकालेका छन्। प्रहरीले राजधानीको अवस्था सामान्य रहेको दाबी गरे पनि नान्टेस र लियोनमा प्रदर्शनकारीले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि तनाव बढेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको बताइएको छ।

दक्षिण-पश्चिम फ्रान्सको जिरोन्ड क्षेत्रमा चेकजाँचका क्रममा खतरनाक वस्तुसहित १३ जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ। बोर्डो र स्ट्रासबर्गलगायत सहरमा पनि ठूलो सङ्ख्यामा नागरिकले सरकारविरोधी प्रदर्शन गरेका छन्।

महँगी, कर र असमानताविरुद्ध नागरिकको आक्रोश

प्रदर्शनकारीहरूले सरकारले सर्वसाधारणको समस्यालाई बेवास्ता गरेको, अत्यधिक करको भार बढाएको र धनी वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। उनीहरूले आर्थिक कठिनाइ, रोजगारीको अभाव र सार्वजनिक शिक्षा प्रणालीका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताएका छन्।

पेरिसमा सहभागी एक युवा प्रदर्शनकारीले आफूहरू आफ्ना माग पूरा गराउन मात्र नभई विरोध गर्न पाउने अधिकारको रक्षाका लागि समेत सडकमा आएको बताएका छन्। अर्की महिला प्रदर्शनकारीले फ्रान्सको राष्ट्रिय आदर्श मानिने ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ व्यवहारमा कमजोर हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

युवा पुस्ताले पर्याप्त रोजगारीका अवसर नहुनु, शिक्षा प्रणालीमा देखिएका समस्या र सरकारबाट अपेक्षित सम्बोधन नपाउनुका कारण आन्दोलनमा सहभागी हुनुपरेको बताएका छन्।

मेलेनचोन पनि प्रदर्शनमा सहभागी

फ्रान्सका वामपन्थी नेता तथा राष्ट्रपतिका पूर्व उम्मेदवार जिन-लुक मेलेनचोन पनि पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन्। उनले प्रदर्शनमा देखिएको जनसहभागितालाई सरकारप्रतिको असन्तुष्टिको सङ्केतका रूपमा व्याख्या गर्दै राष्ट्रपति म्याक्रोनले जनताको आवाज सुन्नुपर्ने र उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

यसअघि गत साता भएका प्रदर्शन हिंसात्मक बनेपछि दुई हजार सात सयभन्दा बढी व्यक्ति पक्राउ परेको र विभिन्न पसल तथा ऐतिहासिक भवनमा आगजनी भएको विवरण सार्वजनिक भएको थियो। पछिल्लो प्रदर्शनका क्रममा पनि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाएको छ।

युरोपका अन्य सहरमा पनि सतर्कता

फ्रान्समा बढेको तनावको प्रभाव अन्य युरोपेली सहरमा पनि पर्न सक्ने आशङ्काबीच इटालीको मिलानमा शनिबार सुरक्षा व्यवस्था कडा पारिएको विवरणमा उल्लेख छ। सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै त्यहाँ सयौँ सुरक्षाकर्मी परिचालन गरिएको र केही पसल बन्द गरिएको जनाइएको छ।

विश्लेषकहरूका अनुसार महँगी, आर्थिक असमानता, रोजगारीको अनिश्चितता र परम्परागत राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि युरोपका विभिन्न देशमा नागरिक आक्रोशका प्रमुख कारण बनिरहेका छन्। फ्रान्समा जारी प्रदर्शनले सरकारको लोकप्रियता, आर्थिक नीतिहरू र नागरिकका माग सम्बोधन गर्ने क्षमतामाथि थप दबाब सिर्जना गर्न सक्ने देखिन्छ।

 

प्रतिक्रिया
सम्बन्धित खबर