बेरुत । लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो शृङ्खलाबद्ध हवाई आक्रमणमा एकै दिन कम्तीमा ३९ जनाको मृत्यु भएको छ। मृतकमध्ये बालबालिकासमेत रहेका छन्।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सक्सकियेहमा भएको भीषण आक्रमणमा एक बालिकासहित सात जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन बालबालिका रहेका बीबीसीले जनाएको छ।
इजरायली रक्षा बल (आईडीएफ) ले हिजबुल्लाहका सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। सर्वसाधारणको हताहतीबारे आएको विवरणप्रति आफूहरू सचेत रहेको र घटनाको समीक्षा भइरहेको आईडीएफले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल १६ मा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरे पनि दुवै पक्षबीच हिंसा रोकिएको छैन। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहको पूर्वाधार ध्वस्त पार्ने भन्दै निरन्तर बमबारी गरिरहेको छ।
यसैबीच, नबातियामा इजरायली ड्रोन आक्रमणमा एक सिरियाली नागरिकको मृत्यु भएको छ। उनकी १२ वर्षीया छोरी गम्भीर घाइते भएकी छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो आक्रमणपछि भाग्न खोज्दा ड्रोनले पुनः प्रहार गरेको थियो।
यता, हिजबुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणमा तीन इजरायली सैनिक घाइते भएको इजरायली सेनाले पुष्टि गरेको छ।
हाल इजरायलले दक्षिणी लेबनानको सीमा क्षेत्रमा करिब १० किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा राखेको छ। लगातारको द्वन्द्वका कारण सीमा क्षेत्रका धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार गत मार्च २ देखि जारी संघर्षमा हालसम्म २,७९५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो एक सातामा मात्रै १२० भन्दा बढी लेबनानी नागरिकले ज्यान गुमाएका छन्। इजरायली पक्षले भने आफ्ना १७ सैनिक र केही सर्वसाधारण मारिएको जनाएको छ।
(स्रोत: बीबीसी)




