अमेरिका र इरानबीच करिब छ महिनादेखि जारी युद्ध तत्काल अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। अमेरिका नयाँ तथा अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध घोषणा गर्ने तयारीमा रहँदा दुवै देशका नेताहरूले एकअर्काविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। यसले सैन्य मोर्चासँगै राजनीतिक र आर्थिक टकरावलाई अझ तीव्र बनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्ने तयारी गरेका छन्। वासिङ्टनले इरानसँग व्यापार गर्ने देशहरूमाथि पनि दबाब बढाउने संकेत दिएको छ। इरानी तेलको प्रमुख खरिदकर्ता चीन भएकाले नयाँ प्रतिबन्धले तेहरानसँगै बेइजिङमाथि पनि आर्थिक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। चीनले भने समस्याको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्ने भन्दै अमेरिकी दबाबको विरोध गर्दै आएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाको प्रस्तावित प्रतिबन्धलाई संयुक्त राष्ट्रसंघका स्वतन्त्र सदस्य राष्ट्रमाथि आफ्नो अधिकार विस्तार गर्ने प्रयासको संज्ञा दिएका छन्। उनले यस्ता ‘दोस्रो तहका प्रतिबन्ध’ अन्तर्राष्ट्रिय कानुनअनुसार वैध नभएको दाबी गरेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने कुनै पनि देशले आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दोहोर्याएका छन्। उनले इरानसँग सम्झौताको सम्भावना रहे पनि अमेरिकाले चाहेको स्तरको सम्झौताका लागि तेहरान अझै तयार नभएको बताएका छन्।
युद्ध सुरु हुँदा अमेरिकाले राखेका मुख्य उद्देश्यहरू भने अझै पूरा भएका छैनन्। इरानको आणविक कार्यक्रम पूर्ण रूपमा निष्क्रिय पार्ने र त्यहाँको धार्मिक शासनविरुद्ध जनविद्रोहको वातावरण बनाउने लक्ष्यमा अपेक्षित सफलता हासिल हुन नसकेको अन्तर्राष्ट्रिय विश्लेषणहरूमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघका निरीक्षकहरू सन् २०२५ यता इरानमा प्रवेश गर्न नपाएकाले त्यहाँको आणविक कार्यक्रमको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी पनि उपलब्ध छैन।
तनावको सबैभन्दा ठूलो प्रभाव रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण स्ट्रेट अफ होर्मुजमा देखिएको छ। इरानले अनुमति नलिई होर्मुज पार गर्न खोज्ने तेल ट्यांकरमाथि आक्रमण गर्ने चेतावनी दिएपछि समुद्री तेल ढुवानी उल्लेखनीय रूपमा घटेको छ। युद्धअघि दैनिक २ करोडभन्दा बढी ब्यारेल तेल यही मार्गबाट ओसारपसार हुने गरेकामा अहिले अमेरिकी सेनाको सहयोगमा औसत दैनिक करिब ८० लाख ब्यारेल तेल मात्र पार गराइएको अमेरिकी पक्षले जनाएको छ।
युद्धका क्रममा इरानको अर्थतन्त्र, नौसेना र वायुसेनामा ठूलो क्षति पुगेको भए पनि उसँग अझै पर्याप्त क्षेप्यास्त्र र ड्रोन क्षमता रहेको विश्लेषण गरिएको छ। इरानी सशस्त्र बलका प्रमुख मेजर जनरल अली अब्दोल्लाहीले कुनै पनि नयाँ आक्रमणको ‘कडा, दण्डात्मक र विनाशकारी’ जवाफ दिने चेतावनी दिएका छन्।
यद्यपि सैन्य चेतावनीसँगै इरानी राष्ट्रपति मसुद पेजेस्कियानले कूटनीतिक समाधानको आवश्यकता दोहोर्याएका छन्। उनले इरान अहिले ‘शक्ति र सम्मान’को अवस्थामा रहेको भन्दै यही अवस्थाबाट युद्ध अन्त्य गर्नु उपयुक्त हुने बताएका छन्।
युद्धको आर्थिक असरबारे इरानभित्र पनि चिन्ता बढ्न थालेको छ। संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाकेर कालीबाफले सैन्य शक्ति मात्र पर्याप्त नहुने भन्दै जनताको जीवनस्तर, आर्थिक गतिविधि, उत्पादन र आर्थिक वृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
हालसम्म युद्धमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्। इरानले युद्धको पहिलो दिन मात्रै १६८ जना विद्यालयका बालबालिकाको मृत्यु भएको जनाएको छ भने अमेरिकाले आफ्ना ७५० भन्दा बढी सैनिक घाइते भएको र १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
सैन्य भिडन्त केही हदसम्म कम भए पनि अमेरिका र इरानबीचको राजनीतिक, आर्थिक र कूटनीतिक तनाव भने लगातार चुलिँदै गएको छ। सोमबार घोषणा हुने अमेरिकी नयाँ प्रतिबन्ध, त्यसप्रति चीनको सम्भावित प्रतिक्रिया तथा स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीको अवस्थाले आगामी दिनमा युद्धको दिशा तय गर्ने प्रमुख कारक बन्न सक्ने देखिएको छ।




